ओखलढुङ्गामा प्रहरीलाई टिकटक चलाउन बन्देज

 

ओखलढुङ्गामा प्रहरीलाई टिकटक चलाउन बन्देज

ओखलढुङ्गा / ओखलढुङ्गामा प्रहरीले टिकटक लगायतका मनोरञ्जनका एपहरू चलाउन नपाउने भएका छन् ।

 डिउटीमा रहेका बेला प्रहरी चनाखो बन्नु पर्ने सामाजिक रूपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो ।

ओखलढुङ्गाका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रहरी कर्मचारी डिउटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने र अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोष्ट गर्नुपर्ने बताएका हुन् । 

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा तथा मातहतका प्रहरी इकाईहरूमा कार्यरत ४५ जना प्रहरी कर्मचारीहरूलाई प्रहरीले पालना गर्नु पर्ने आचारसंहिता र सामाजिक सञ्जाल प्रयोगसम्बन्धी सचेत गराइएको जिल्ला प्रहरी प्रमुख काफ्ले बताए ।

‘प्रहरीले मनोरञ्जनमा लागेर अलमल गर्न त पाउँदैन । डिउटीको समयमा मोबाइल चलाएर टिकटक बनाएर बस्ने कुरा त झन् स्वीकार्य हुँदैन,’ उनले भने, ‘प्रहरी कर्मचारीले फेसबुक, ट्विटर, टिकटक लगायतमा आफ्नो हितका लागि भन्दा पनि सामाजिक हित र सकारात्मक सन्देश दिनेखालका पोस्ट गर्नुपर्नेबारे सचेत गराएका छौँ ।’ 

देशका कतिपय ठाउँमा प्रहरी कर्मचारीले पोशाक वा हतियारको गलत प्रयोग गरेर टिकटक बनाएको पाइएकाले त्यस्ता गतिविधि प्रहरी आचारसंहिता विपरित रहेकाले त्यसो नगर्न सचेत गराइएको उनको भनाइ छ ।कार्यक्रममा प्रहरीको काम कर्तव्यसम्बन्धी पनि समसामयिक विषयमा समेत छलफल भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

एक टिप्पणी भेजें

और नया पुराने