विराटनगरमा साइकल यात्रीमाथि अमानवीय व्यवहार गर्ने भेटवाललाई धरौटीमा छाड्ने आदेश


 विराटनगरमा साइकल यात्रीमाथि अमानवीय व्यवहार गर्ने भेटवाललाई धरौटीमा छाड्ने आदेश

विराटनगर / जिल्ला अदालत मोरङले साइकल यात्रीमाथि अमानवीय शैलीमा कुटपिट गर्ने विराटनगरका आयुष भेटवाललाई एक लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले विराटनगर महानगरपालिका–४ दूध फारम चोकमा साइकल यात्रीमाथि अमानवीय शैलीमा कुटपिट गर्ने विराटनगर ४ का आयुष भेटवाललाई  एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।  आदेशपछि उनी धरौटी  बुझाएर छुटेका छन् । 

आइतबार उनी विरुद्ध ज्यान मार्ने  उद्योगको  मुद्दा दर्ता भएको  थियो । सोमबार थुनछेक  बहसपछि १ लाख धरौटीमा छाड्ने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।  मुद्दामा प्रतिवादी बनाइएका १७ बर्से किशोरलाई पक्राउ गर्नका लागि अदालतबाट ३५ दिने म्याद जारी गरेको छ ।  

कामबाट साइकलमा घर  फर्किरहेका बेला विराटनगर–६ का २७ वर्षीय पवनकुमार साह हलुवाईमाथि भेटुवालले गत असार २० गते राति ८ बजे दुधफारम चोकमा मुक्का प्रहार गरेका थिए । गलत दिशाबाट साइकल कुदाएको भन्दै बा १५ च ३४४५ नम्बरको कारमा सवार भेटुवालले कारबाट ओर्लिएर साइकलमा हिड्दै गरेका साहमाथि मुक्का प्रहार गर्दा साह सडकमै ढलेका थिए । सडकमा ढलेका साहको खुट्टामा समातेर घिसार्दै भेटवालले सडक किनारमा छाडे । साहले प्रयोग गर्ने साइकल आयुसको भाई (काकाको छोरा) कुशलले सडक किनारमा फालिदिएपछि उनीहरु  भागे । 

सडक किनारमा बेहोस भएका साहलाई प्रहरीले उद्धार गरी कोशी अस्पताल ल्याएको थियो । उपचारपछि उनी  घर फर्किएका थिए । घटनापछि  फरार रहेका आयुस भोलिपल्ट असार २१ गते पक्राउ परेका थिए ।  उनका भाई भने अझै फरार छन् ।

कारमा सवार  भेटवाल दाजूभाईले अमानवीयय शैलीमा कुटपिट गर्दा कार चालक तेह्रथुमको फेदाप गाउँपालिका–४ का ३० वर्षीय रोशन कार्की गाडीमै थिए । प्रहरीले भेटवाल दाजूभाईसहित कार चालक विरुद्ध ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सरकारी वकिलको कार्यालयले कार्कीलाई  मुद्दा नचलाउने निर्णय गरेको थियो । आयुसका १७ वर्षीय भाइका विरुद्ध   भने ज्यान मार्ने उद्योग मुद्दाको मतियारका रूपमा मुद्दा दर्ता भएको थियो । गलत दिशाबाट साइकलमा आइरहेका साहले गाली गरेपछि आवेशमा आएर आफूले मुक्का प्रहार गरेको भेटुवालले प्रहरीसँग बयान गरेका थिए । उनको कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

एक टिप्पणी भेजें

और नया पुराने