हरिणको सिङ र बन्दुकसहित बेलबारीबाट एक जना पक्राउ

 

हरिणको सिङ र बन्दुकसहित बेलबारीबाट एक जना पक्राउ

 बेलबारी ।   वन्यजन्तु हरिणको सिङ र भरुवा बन्दुकसहित बेलबारीबाट आइतबारसाँझ एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बेलबारी नगरपालिका–१ का ५२ वर्षीय आशबहादुर लिम्बूलाई पक्राउ गरिएको हो । लिम्बूले आफ्नै घरमा कारखाना सञ्चालन गरेर भरुवा बन्दुक बनाउँदै बिक्री गरिरहेको दाबी प्रहरीको छ । त्यस्तै हरिणको ५ वटा सिङ नै घरबाट बरामद भएपछि वन्यजन्तुका अंगको अवैध कारोबार एवं तस्करीमा पनि उनको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।

डीएसपी श्रेष्ठका अनुसार विशेष सूचनाका आधारमा लिम्बूको घरमा छापा हान्न प्रहरी पुगेको हो । त्यस क्रममा लोड गरिएको भरुवा बन्दुकसहित बन्दुक बनाउन प्रयोग गरिने ४ वटा काठ, पड्किने फलामको पासो, १ किलो बारुद, बन्दुक सफा गर्ने रड, ३ वटा काजो, बसिला, राँबो, हथौडा, आरा लगायत बन्दुक बनाउन प्रयोग गरिने विभिन्न औजार बरामद भएको उनले बताए ।

वन्यजन्तुको अंग र भरुवा बन्दुकसहित पक्राउ परेका लिम्बू आँफैले बन्दुक बनाउने तथा जंगली जनावरको चोरी सिकारी गर्ने समूहलाई बेच्ने गरेको प्रहरी दाबी छ । जंगली जनावरको चोरी सिकारी गर्ने समूहसँग सम्पर्क बढाउँदै लिम्बूले वन्यजन्तुका अंगको पनि अवैध कारोबार गरिरहेको श्रेष्ठले बताए ।

प्रहरीले लिम्बूविरुद्ध हातहतियार खरखजना तथा विष्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चलाउन सोमबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । त्यस्तै वन्यजन्तुका अंगको कारोबारका विषयमा पनि विस्तृतमा अनुसन्धान हुने प्रहरीले जनाएको छ । प्रहरीले लिम्बूले एउटा बन्दुक कति रूपैयाँमा बिक्री गर्थेभन्ने खुल्न बाँकी छ ।

एक टिप्पणी भेजें

और नया पुराने